जीतपुरसिमरा उद्योग वाणिज्य संघ ले जीतपुरसिमरा उपमहानगरपालिका–२४ क्षेत्रमा रहेका सम्पूर्ण उद्योगी तथा व्यवसायीलाई कानुनअनुसार व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ । विभिन्न सरोकारवाला निकायबाट बजार अनुगमन भइरहेको भन्दै संघले नियम विपरीत कारोबार गरे कानुनी कारबाही हुन सक्ने चेतावनी दिएको हो ।
संघका अध्यक्ष मोहन शर्मा लामिछाने द्वारा जारी सूचनामा व्यवसायीलाई मूल्य सूची अनिवार्य रूपमा देखिने गरी राख्न, नियमित बिल विजक जारी गर्न तथा व्यवसाय दर्ता प्रमाणपत्र र स्थायी लेखा नम्बर कारोबार स्थलमै राख्न आग्रह गरिएको छ ।
त्यस्तै उत्पादन मिति, प्रयोग मिति र उपभोक्ता मूल्य उल्लेख नभएका सामान बिक्री नगर्न, म्याद गुज्रिएका तथा सडेगलेका वस्तु नराख्न र सही नापतौलका उपकरण मात्र प्रयोग गर्न भनिएको छ । संघले प्रतिबन्धित सामग्री, अन्तःशुल्क दर्ता बिना सूर्तिजन्य पदार्थको कारोबार तथा कालोबजारी नगर्न समेत चेतावनी दिएको छ ।
होटल तथा पर्यटन व्यवसायीलाई पनि सरसफाइमा विशेष ध्यान दिन, बासी तथा अखाद्य खानेकुरा प्रयोग नगर्न, खानेकुरा छोपेर राख्न र कामदारको नियमित स्वास्थ्य परीक्षण गर्न आग्रह गरिएको छ । साथै कामदारलाई अनिवार्य पोशाक तथा सरसफाइको मापदण्ड पालना गराउनुपर्ने उल्लेख गरिएको छ ।

संघले आगामी वार्षिक साधारण सभा तथा निर्वाचनलाई लक्षित गर्दै कार्यालयमा व्यवसाय दर्ता तथा नवीकरण गर्न समेत व्यवसायीलाई अनुरोध गरेको छ । सूचनाअनुसार नवीकरणको अन्तिम मिति २०८३ जेठ १५ गते तोकिएको छ भने वार्षिक साधारण सभा असार १ गते, निर्वाचन असार ७ गते र सपथ ग्रहण कार्यक्रम असार ११ गते हुने जनाइएको छ ।